काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ।
बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने जनाएको थियो । तर, उक्त समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने पक्का भएको हो।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार ११ गते एन्फालाई निलम्बन गरेको थियो । निलम्बनकै कारण नेपालले साफ च्याम्पियनसिपमा सहभागिता जनाउने वा नजनाउने विषय अनिश्चित बनेको थियो ।
गत अगस्ट १ मा भुटानको थिम्पुमा भएको समूह विभाजनमा नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा राखिएको थियो । साफले उक्त ‘ड्र’ सार्वजनिक हुँदा नेपालले खेल्न पाउने कि नपाउने भन्ने सर्तको बारेमा स्पष्ट जानकारी दिएको थियो। दुई महिनापछि पनि निलम्बन कायमै रहँदा नेपालले पहिलो पटक प्रतियोगिता गुमाउने भएको हो ।
सन् १९९३ मा सुरु भएको दक्षिण एसियाको फुटबल महोत्सवका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । साफ च्याम्पियनसिपको १५औं संस्करण नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुँदैछ । समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन् । सिंगल राउन्ड रोविन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।