प्रधानमन्त्रीबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको शुभकामना

प्रधानमन्त्रीबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा हुन लागेको ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’ को सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै नागरिकस्तरबाटै साथ र समर्थनको अपेक्षा गरेका छन् ।

‘प्रिय कर्णाली’ भन्दै सामाजिक सञ्जाललबाट शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले कर्णाली प्रदेशले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भको आयोजना गर्न लागेकोमा खुसी जनाएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । मुख्य खेलहरू भने ८ गतेदेखि नै सुरु हुनेछ ।

प्रधानमन्त्रीले यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

सन्देशमा शाहले विगतमा प्रतियोगिता नियमित हुन नसकेको उल्लेख गर्दै हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरू भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म ९ वटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष भएको बताए ।

‘अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्नेछ’, शाहले लेखेका छन् ।