आठै क्लबका लागि रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

आठै क्लबका लागि रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित रंगशाला निर्माण गर्न लागिएको जानकारी दिएका हुन्।

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेसँगै सरकारले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणको योजना सार्वजनिक गरेको हो।

प्रधानमन्त्री शाहका अनुसार आठवटै क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ। धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिने उनले बताएका छन्।

घोषणाअनुसार विभिन्न क्लबका लागि प्रस्तावित घरेलु मैदानसमेत तय गरिएको छ। जसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला रहनेछन्।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौँ गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ।

आठवटै क्लबका आफ्नै फ्लडलाइटयुक्त रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने सरकारको लक्ष्य रहेको छ। प्रस्तावित योजना कार्यान्वयन भए आगामी संस्करणहरूमा क्लबहरूले आफ्नै घरेलु मैदानमा खेल सञ्चालन गर्न पाउने र यसले नेपाली क्रिकेटको पूर्वाधार विकाससँगै देशका विभिन्न क्षेत्रमा क्रिकेट गतिविधि विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।