एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको फाइनलको टिकट ‘सोल्ड आउट’ भएको छ । 

शुक्रबार एनपीएलको टिकटिङ पार्टनर खल्तीले दिउँसो १ बजे फाइनलको टिकट खुलाएको थियो । सो टिकट खुलेको एकैछिनमा सोल्ड आउट भएको हो । यस सिजन उपाधिका निम्ति फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछ । 

सुदूरपश्चिमले बिहीबार क्वालिफायर्स–२ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । लुम्बिनीले भने क्वालिफायर्स–१ मा सुदूरपश्चिमलाई नै हराएर फाइनल प्रवेश गरेको थियो ।