काठमाडौं । इंग्लिस ब्याटर डाविड मलानको संयमित अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको हो। चितवनको इनिङ्स उकास्ने क्रममा मलानले अविजित ७१ रनको महत्त्वपूर्ण योगदान दिए।
दोस्रो ओभरमै ओपनर कमिल मिशारा व्यक्तिगत ४ रन बनाएर आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका मलानले अन्तिम ओभरसम्म टिकेर ब्याटिङ गरे। उनले ५१ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे। एकछेउबाट लगातार विकेट झरिरहँदा मलानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। आठौं नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्कासहित १८ रन जोडे भने कमल सिंह ऐरीले ८ बलमा १ छक्का मद्दतमा १० रन बनाए।
चितवनका अन्य ब्याटरहरूले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन्। ओपनर कमिल मिशारा ४ र देव खनाल ६ रनमा पेभिलियन फर्किए। यस्तै, कप्तान रवि बोपारा र कुशल मल्ल समान १–१ रनमा आउट हुँदा विवेक यादव ३ र उसामा मिर २ रनमै समेटिए। रिजन ढकाल इनिङ्सको अन्तिम बलमा ४ रन बनाएर रनआउट भए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २ विकेट हात पारे। त्यस्तै, हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १–१ विकेट लिए।