चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजलाई २ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मलानको अविजित ७१ रनको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। जवाफमा १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित हासिल गर्‍यो।

अब सुदूरपश्चिमले आगामी शनिबार हुने फाइनल खेलमा उपाधिका लागि लुम्बिनी लायन्सको सामना गर्नेछ। यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँगै पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने दोस्रो अवसरको सदुपयोग गरेको हो।

सुदूरपश्चिमको जितमा नायक बनेका थरिन्दु रत्नायकेले बलिङतर्फ २ विकेट लिनुका साथै ब्याटिङमा अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४२ बलको सामना गर्दै ७ चौका प्रहार गरे र इनिङ्सको १९.५ ओभरमा विजयी चौकासमेत हिर्काए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले आक्रामक सुरुवात गरे पनि मध्यक्रम धरमराएको थियो। ओपनर विनोद भण्डारीले १३ बलमा १ चौका र २ छक्कासहित २३ रन जोड्दै जर्ज मन्सेसँग पहिलो विकेटका लागि २३ रनको साझेदारी गरे। तर, अर्का ओपनर मन्से १५ बलमा ८ रन बनाएर आउट भए। त्यस्तै, तेस्रो नम्बरमा आएका स्कट कुगुलेइन २ र इशान पाण्डे १० रनमा पेभिलियन फर्किएपछि सुदूरपश्चिम ४५–४ को दबाबपूर्ण स्थितिमा पुगेको थियो।

संकटमा परेको टोलीको इनिङ्स सम्हाल्दै थरिन्दुले पाँचौँ विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसँग ३१ रन र छैटौँ विकेटका लागि आरिफ शेखसँग २६ रनको महत्त्वपूर्ण साझेदारी गरे। कप्तान दीपेन्द्र १५ तथा आरिफ १० रन बनाएर आउट भए पनि थरिन्दुले एकछेउबाट संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए। बलिङतर्फ चितवनका रञ्जित कुमारले २ विकेट लिए भने कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान १–१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि क्रिजमा आएका डाविड मलानले अन्तिमसम्म टिकेर ब्याटिङ गरे। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए। एकछेउबाट लगातार विकेट झरिरहँदा मलानले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे। आठौँ नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्कासहित १८ रन जोडे भने कमलसिंह ऐरीले ८ बलमा १ छक्का मद्दतमा १० रन बनाए।

चितवनका अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन्। देव खनाल ६, कप्तान रवि बोपारा र कुशल मल्ल समान १–१, विवेक यादव ३ तथा उसामा मिर २ रनमा आउट भए भने रिजन ढकाल ४ रनमा अविजित रहे। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगुलेइनले ३ र थरिन्दु रत्नायकेले २ विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट हात पारे।