काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ ।
राखेपको कार्यकारी समितिले नोभेम्बर १९ अर्थात् मंसिर ३ गते गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्र बिहीबार एन्फालाई पठाइएको छ । पत्रमा निर्णय भएको मितिदेखि नै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध लागू नहुने उल्लेख छ ।
एन्फाले गत अप्रिल ५ (चैत २३) गते राखेपलाई पत्र पठाउँदै आफूहरूमाथिको निलम्बन फुकुवा गर्न अनुरोध गरेको थियो । सोही अनुरोध र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार राखेपले प्रतिबन्ध हटाउने निर्णय गरेको जनाएको छ ।
यस निर्णयसँगै एन्फामाथि राखेपले लगाएका सबै प्रकारका प्रशासनिक तथा आर्थिक बन्देज समाप्त भएका छन् । राखेपले प्रतिबन्ध फुकुवाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ ।