काठमाडौं । ओपनर कमिल मिशाराको विस्फोटक शतक र कप्तान रवि बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजलाई २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको कीर्तिमानी योगफल तयार पारेको हो। एनपीएल इतिहासमा चितवनले बनाएको यो अहिलेसम्मकै उच्च टिम स्कोर हो। यसअघि लिग चरणमा काठमान्डुविरुद्ध नै बनाएको १७० रन चितवनको उच्च स्कोर थियो।
मिशाराको एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोर
आफ्नो टी–२० करियरको तेस्रो शतक प्रहार गर्ने क्रममा कमिल मिशाराले ५९ बलको सामना गर्दै ५ चौका र १० गगनचुम्बी छक्काको मद्दतमा अविजित १२० रन बनाए। योसँगै उनी एनपीएल इतिहासमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। यसअघि दोस्रो सिजनमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध बनाएको ११४ रनको कीर्तिमान मिशाराले भङ्ग गरेका हुन्।
यस सिजन एनपीएलमा कुनै पनि टोलीले २०० रनको आँकडा पार गरेको यो तेस्रो पटक हो। यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डुविरुद्ध २२४ रन बनाएको थियो।
सुरुवाती झट्कापछि कीर्तिमानी साझेदारी
पहिलो विकेटका लागि मिशारा र देव खनालबीच २२ रनको साझेदारी भएको थियो। तर, चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल (१७ रन) र डाविड मालान (० रन) लाई लगातार आउट गरेपछि चितवन २२–२ को दबाबपूर्ण स्थितिमा पुगेको थियो।
त्यसपछि क्रिजमा आएका कप्तान रवि बोपारा र मिशाराले तेस्रो विकेटका लागि १५४ रनको सानदार शतकीय साझेदारी गर्दै इनिङ्स उकासे। एनपीएलमा चितवनका लागि यो अहिलेसम्मकै ठूलो साझेदारी हो भने लिगको समग्र इतिहासमा तेस्रो ठूलो साझेदारी हो। १९औँ ओभरको तेस्रो बलमा रासिद खानले बोपारालाई बोल्ड गर्दै यो साझेदारी तोडे। सिजनको दोस्रो अर्धशतक प्रहार गरेका बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन जोडे।
अन्त्यतिर विवेक यादवले ३ बलमा २ चौका प्रहार गर्दै ८ रन बनाएर आउट भए। बलिङतर्फ काठमान्डुका कप्तान करण केसी र रासिद खानले २–२ विकेट हात पारे।