एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा

एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा

काठमाडौं।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स उपाधि नजिक पुगेको छ ।

जितका लागि पाएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ५२ रन बनाए भने इशान पाण्डेले २७ रनको योगदान दिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका शेर मल्ल र रुबेन ट्रम्पलम्यानले २–२ विकेट हात पारे ।

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना अझै कायमै छ । उसले अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत भोलि (बुधबार) हुने इलिमिनेटर खेलमा काठमाण्डौ गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन् । तेस्रो संस्करणको एनपीएलको फाइनल खेल आगामी मङ्सिर ५ गते हुनेछ ।