काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर हुँदै छ । समूह चरणको अंक तालिकाको शीर्षस्थानमा रहेका साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर हुन लागेको हो ।
लुम्बिनी र सुदूरपश्चिमबीचको यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुकी ५ बजेदेखि सुरु हुनेछ । समूह चरणमा ७ मध्ये एक खेल मात्रै हारेको लुम्बिनी ११ अंकसहित शीर्षस्थानमा तथा ७ मध्ये ५ खेलमा जित हासिल गरेको सुदूरपश्चिम १० अंकसहित शीर्ष दुईमा परेर पहिलो क्वालिफायर खेल्न लागेका हुन् ।
एनपीएलको पहिलो सिजनको समूह चरणमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । उक्त खेलमा सुदूरपश्चिमले लुम्बिनीसामु निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल बनाएको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।
उक्त खेलमा लुम्बिनीमाथि सहज जित निकाल्ने क्रममा ब्याटिङमा सुदूरपश्चिमका सैफ जैबले ९० तथा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन प्रहार गरेका थिए । बलिङमा सैफ जैब र ब्रान्डन म्याकमलेन चम्किएका थिए । उनीहरू दुवैले समान ३–३ विकेट लिएका थिए ।
लुम्बिनीका ब्याटर विवेक यादवले अविजित ७७ रन प्रहार गरेका थिए । त्यसपछि उक्त सिजनमा लुम्बिनी र सुदूरपश्चिमको भेट भएन । लुम्बिनीले त्यो सिजनमा समूह चरण नै पार गर्न सकेको थिएन ।
एनपीएलको दोस्रो सिजनमा भने लुम्बिनी र सुदूरपश्चिमको समूह चरणदेखि फाइनलसम्म कडा भिडन्त भयो । एनपीएलको दोस्रको समूह चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि सानदार जित निकालेको थियो । यस खेलमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य १० बल बाँकी रहँदै पूरा गरेर सुदूरपश्चिमले ७ विकेटको सानदार जित दर्ता गरेको थियो ।
यस खेलमा लुम्बिनी ब्याटरले औसत प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका विनोद भण्डारीले ६९ रन प्रहार गरेर आफ्नो टोलीलाई जित दिलाएका थिए । यही सिजनको फानइलमा पुन: लुम्बिनी र सुदूरपश्चिमको भेट भएको थियो । तर, प्रतियोगितामा उत्कृष्ट देखिएको सुदूरपश्चिमलाई लुम्बिनीले नराम्रोसँग निराश बनायो ।
उपाधि खेलमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले मात्रै ८५ रन बनाउन सक्यो । यस खेलको बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरेका थिए । त्यसपछि रुबेन ट्रम्पल मेन र शेर मल्लले ३–३ विकेट लिएका थिए ।
त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८६ रनको लक्ष्य ९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यस क्रममा दिनेश अधिकारीले १३ बलमा ४२ रनको आक्रामक पारी खेलका थिए । जारी सिजनको समूह चरणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नराम्रोसँग हराएको थियो । यो सिजनको उद्घाटनकै दिन भएको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।
यो खेलमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रन बनाएर अल आउट भएको थियो । यस खेलमा कप्तान ऐरीले २७ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रर्दशन गर्न सकेनन् । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
यसरी एनपीएलको इतिहासमा लुम्बिनी र सुदूरपश्चिमबीच ४ खेल भएका छन्, जसमा सुरुका २ मा सुदूरपश्चिम र पछिल्ला २ मा लुम्बिनी विजयी भएको छ । अब आज हुने पाँचौँ भेटमा कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ ।
एनपीएलको जारी सिजनमा लुम्बिनी लायन्स सबैभन्दा सन्तुलित र उत्कृष्ट टोली मानिएको छ । लुम्बिनीले समूह चरणका ७ मध्ये एक खेलमा मात्रै हार व्यहोरेको छ । लुम्बिनी अंक तालिकामा शीर्षस्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेको हो ।
सुदूरपश्चिम समूह चरणका ७ मध्ये ५ खेलमा जित हात पारेर अंक तालिकामा दोस्रो हुँदै क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यो सिजनको सुरुवातमा तनावपूर्ण देखिए पनि पछिल्ला खेलमा उत्कृष्ट कमब्याक गरेको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमलाई पुन: प्रमुख उपाधि दाबेदार टोलीको रूपमा हेरिएको छ ।