काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले प्रतियोगिताकै इतिहासमा सर्वाधिक रनको कीर्तिमान बनाउँदै काठमाडौं गोर्खाजमाथि ५५ रनको शानदार जित हात पारेको छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको घातक बलिङको मद्दतमा पोखराले सानदार जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार पारेको थियो। यो एनपीएल इतिहासकै हालसम्मकै उच्च स्कोर हो। यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध बनाएको २२० रनको कीर्तिमानलाई पोखराले तोडेको हो। यससँगै पोखरा एनपीएलको एकै सिजनमा दुई पटक २०० भन्दा बढी रन बनाउने पहिलो टोली समेत बनेको छ।
पोखराको विशाल योगफलमा कुशल भुर्तेल र युवराज सिंह सम्राले कीर्तिमानी साझेदारी गरे। तेस्रो ओभरमा ओपनर अर्जुन कुमाल ५ रन बनाएर आउट भएपछि क्रिजमा जमेका कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलकै सर्वाधिक १८६ रनको साझेदारी गरेका थिए।
शतक बनाउनबाट मात्र १ रनले चुकेका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा सर्वाधिक ९९ रन बनाए। यस्तै, युवराज सिंह सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्कासहित ८९ रनको उत्कृष्ट इनिङ्स खेले। अन्त्यमा चमिका करुणारत्नेले अविजित १९ र धनन्जय लक्षणले २ रन जोडे। बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए।
पोखराले प्रस्तुत गरेको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज १९ ओभरमा १६९ रनमै अलआउट भयो। काठमाडौंका लागि ओपनर स्मित पटेलले ३४, रासिद खानले ३१, विलियम बोसिस्टोले २६ र जहानदाद खानले २४ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
काठमाडौंको इनिङ्स ध्वस्त पार्ने क्रममा पोखराका बलर दिनेश खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, विपिन खत्रीले ३ विकेट हात पारे भने रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले समान १–१ विकेट लिए।