कप्तान भुर्तेल शतकबाट १ रनले चुके पनि पोखराद्वारा काठमाडौंलाई २२५ रनको विशाल लक्ष्य

कप्तान भुर्तेल शतकबाट १ रनले चुके पनि पोखराद्वारा काठमाडौंलाई २२५ रनको विशाल लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसामु २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको उच्च योगफल तयार पारेको हो।

पोखराको विशाल स्कोरमा कप्तान कुशल भुर्तेल र युवराज साम्राले उत्कृष्ट साझेदारी तथा विष्फोटक ब्याटिङ गरे। कप्तान भुर्तेल शतक प्रहार गर्न मात्र १ रनले चुके। उनले ५१ बलको सामना गर्दै समान ८ चौका र ८ छक्काको मद्दतमा ९९ रनको आक्रामक पारी खेले। यस्तै, युवराज साम्राले पनि ५५ बलमा ८९ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ काठमाडौं गोर्खाजका करण केसीले २ विकेट हात पारे भने जहान्द खानले १ विकेट लिए।

प्रतियोगिताको समीकरणअनुसार काठमाडौं गोर्खाज यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिसकेको छ।