एनपीएल प्लेअफ समीकरण पूरा: लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरियो

एनपीएल प्लेअफ समीकरण पूरा: लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरियो

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चारै टोलीको समीकरण पूरा भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक भिडन्तमा साविक विजेता लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएसँगै विराटनगर किंग्सको प्लेअफ यात्रामा पूर्णविराम लागेको हो।

विराटनगरले प्रस्तुत गरेको १६७ रनको चुनौतीपूर्ण लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनरद्वय डार्सी सर्ट र आसिफ शेखले समान ४५–४५ रनको महत्त्वपूर्ण पारी खेले। यस्तै, अली शेखले २७ र सन्दीप जोराले अविजित २५ रन जोड्दै टोलीलाई जितनजिक पुर्‍याए भने अन्तिम क्षणमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीको जित सुनिश्चित गरे। बलिङतर्फ विराटनगरका अपराजित पौडेलले २ तथा चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रनको योगफल खडा गरेको थियो। विराटनगरका लागि चरिथ असलंकाले ४३ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै ६४ रनको शानदार अर्धशतकीय पारी खेले। त्यस्तै, शुभम रन्जानेले अविजित ३१, इमरान शेखले २४ र लोकेश बमले १५ रनको योगदान दिए। लुम्बिनीका बलर किशोर महतोले २ तथा अभिषेक गौतम र रुवेन ट्रम्पलमानले समान १–१ विकेट हात पारे।

यस नतिजासँगै प्रतियोगिताको प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्ससँगै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्। अर्कोतर्फ, पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा भने समूह चरणबाटै टुङ्गिएको छ।