जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका स्पिनरहरूले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि जनकपुर बोल्ट्स सामान्य स्कोरमा समेटिएको छ। टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ८८ रन मात्र बनाउन सक्यो।

खेलको सुरुवातमै चितवनका बलरहरूले जनकपुरका ब्याटरहरूलाई दबाबमा राखेका थिए। ओपनर तृतराज दास ५ रन बनाएर दोस्रो ओभरमै आउट भएपछि जनकपुरको विकेट पतनको सिलसिला सुरु भयो। नियमित अन्तरमा विकेट गुमाएको जनकपुरका लागि पाँचौँ विकेटका रूपमा विशाल सुशलिङ र आदित्य महताबीच भएको १८ रनको साझेदारी नै इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बन्यो।

जनकपुरका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक २४ रन बनाए। यस्तै, विशाल सुशलिङले १५ रन जोडे भने अन्त्यतिर राहुल यादवले १० रनमा अविजित रहे। अन्य ब्याटरहरू सस्तोमै आउट हुँदा सन्तोष कार्की १०, रायन बर्ल ६, आदित्य महता ४ र अभिषेक तिवारी ४ रनमा आउट भए भने हेरी टेक्टर र जिमी निशमले खातासमेत खोल्न सकेनन्। ललित राजवंशी २ रनमा अविजित रहे।

जनकपुरको ब्याटिङ तहसनहस पार्ने क्रममा चितवनका स्पिनरहरूले कूल ७ विकेट आफ्नो नाम गरे। नयाँ बलबाट बलिङ सम्हालेका रन्जित कुमारले पहिलो स्पेलमै उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चिएर ३ विकेट लिए।

यस्तै, कप्तान सिकन्दर राजाले पनि ४ ओभरमा २ मेडन राख्दै १० रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। तल्लो क्रममा कमिल मिसारले २ ओभरमा १८ रन खर्चिएर २ विकेट हात पारे। यता, मिडियम पेसरहरूमा कमल सिंह ऐरी र रिजन ढकालले १–१ विकेट लिए।