काठमाडौं। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित छ विकेट लिएपछि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान सन्दीपले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा समग्र टोलीको सफलता महत्त्वपूर्ण हुने बताए। उनले एक विकेट लिएर टोलीलाई जिताउन सके पनि वा पाँच विकेट लिएर जिताउन सके पनि आफ्नो अन्तिम उद्देश्य टोलीलाई जित दिलाउनु नै रहेको उल्लेख गरे।
उनले भने, "ह्याट्रिक होस्, पाँच विकेट होस् वा जति पनि विकेट होस्, त्यसले टिमलाई जिताउन सहयोग गरिरहेको छ भने म सधैँ त्यही गर्न चाहन्छु। मेरो लागि एक विकेट लिएर टिमले जित्नु वा पाँच विकेट लिएर टिमले जित्नु एउटै हो। म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु।"
सन्दीपले विपक्षी टोली पोखरालाई १३२ रनमा समेट्न टोलीका अन्य बलरहरूको पनि महत्त्वपूर्ण योगदान रहेको बताए। अर्को छेउबाट अन्य बलरहरूले कसिलो बलिङ गर्दै दबाब सिर्जना गरेकाले आफूलाई विकेट लिन सहज भएको उनको भनाइ थियो। प्रतियोगिताभर टोलीले यस्तो सन्तुलित सामूहिक प्रदर्शन देखाउन नसकेको उल्लेख गर्दै उनले आजको खेल उत्कृष्ट टिमवर्कको उदाहरण भएको बताए।
लक्ष्य पछ्याउने क्रममा ब्याटिङतर्फ टोलीले केही सङ्घर्ष गर्नुपरे पनि महत्त्वपूर्ण जित हासिल गर्नु नै ठूलो कुरा रहेको सन्दीपले बताए। तालिकामा नेट रनरेट सुधार्नुभन्दा दुई अङ्क जोड्नु टोलीका लागि पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो।
यद्यपि, उनले टोलीको फिल्डिङ पक्षमा भने अझै सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। मैदानमा क्याच छुट्ने र मिसफिल्ड हुने समस्या देखिए पनि खेलाडीहरूले मैदानमा इमानदार प्रयास गरिरहेको हेर्न चाहेको उनले स्पष्ट पारे। साथै, सन्दीपले दबाबपूर्ण परिस्थितिमा सुशीलको धैर्यपूर्ण ब्याटिङ र प्रदर्शनको खुलेर प्रशंसा गरे। सुशीलजस्ता अनुभवी खेलाडी टोलीमा हुँदा युवा खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाउने विश्वास उनले व्यक्त गरे।
नेपाली क्रिकेटको भविष्यबारे बोल्दै कप्तान लामिछानेले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अझै धेरै प्रगति गर्न बाँकी रहेको बताए। उनले आगामी दिनमा नेपाली खेलाडीहरूले पनि इन्डियन प्रिमियर लिग (आइपिएल) जस्ता विश्वस्तरीय फ्रेन्चाइज लिग खेल्ने अवसर पाउने आशा व्यक्त गरे।