एनपीएल : रासिद खानको उत्कृष्ट अर्धशतकमा चितवनलाई १८१ रनको लक्ष्य

एनपीएल : रासिद खानको उत्कृष्ट अर्धशतकमा चितवनलाई १८१ रनको लक्ष्य

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।र्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो।

शुरुवातमा १३ रनमै २ विकेट गुमाएर दबाबमा परेको काठमान्डुका लागि रासिद खानले उत्कृष्ट ब्याटिङ गर्दै यस सिजनको दोस्रो अर्धशतक प्रहार गरे। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाए। यसअघि उनले कर्णाली याक्सविरुद्ध पनि ५० रन बनाएका थिए।

सुरुवाती ब्याटरहरू डेभिड वार्नर १ रन र साहिल पटेल ८ रन बनाएर आउट भएपछि संकटमा परेको इनिङ्सलाई रासिदले विलियम बोसिस्टोसँग तेस्रो विकेटका लागि ६२ रन र सहान अराचिगेसँग चौथो विकेटका लागि ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए। बोसिस्टोले २७ र अराचिगेले ३३ रन बनाए।

त्यस्तै, अन्त्यतिर कप्तान करण केसीले आक्रामक रूपमा प्रस्तुत हुँदै ७ बलमै ३ छक्काको मद्दतले २० रन जोडे भने सन्तोष यादवले अविजित ८ रन योगदान गरे।

चितवनका लागि बलिङतर्फ रिजन ढकालले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। यसैगरी कप्तान सिकन्दर राजा र कमल सिंह ऐरीले २-२ विकेट तथा डान मोस्लीले १ विकेट हात पारे।