काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुकी ५ बजे सुरु हुने यस खेलको विजेता टोली सीधा फाइनलमा प्रवेश गर्नेछ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी शीर्ष स्थानमा र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। सुदूरपश्चिम लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको टोली हो भने यसअघिका दुवै संस्करणमा यो टिम उपविजेता बनेको थियो। यता, लुम्बिनी भने गत संस्करणको विजेता हो।
आजको खेलमा पराजित हुने टोलीलाई पनि फाइनलमा पुग्ने अर्को अवसर भने बाँकी रहनेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न पाउनेछ। एनपीएलअन्तर्गत भोलि हुने इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ, जसमें पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुनेछ।