काठमाडौं। कप्तान दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्ण कप्तानी इनिङ्स खेल्दै अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा आउट हुनुअघि उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । टिमको स्कोर मात्र ८ रन हुँदा चौथो ओभरमै क्रिजमा आएका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर अर्धशतकीय साझेदारी गर्दै धराशायी बनेको इनिङ्स सम्हालेका थिए ।
यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्यो । इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे । सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यस सिजनको पहिलो खेल खेलिरहेका स्कटिस ओपनर जर्ज मुन्से इनिङ्सको पहिलो बलमै आउट भएपछि सुदूरपश्चिमको सुरुवात खराब रह्यो । यस्तै, पहिलो खेल खेलिरहेका अर्का खेलाडी तानुका दबाबरे पनि तेस्रो ओभरमा रुबेन ट्रम्पलम्यानकै बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए । त्यसपछि अभिषेक गौतमले ओपनर विनोद भण्डारीलाई डिकवेलाकै हातबाट स्टम्प पछाडि क्याचआउट गराएपछि ३.१ ओभरमा सुदूरपश्चिम ८–३ को नाजुक अवस्थामा पुगेको थियो ।
सुदूरपश्चिमले १५औँ ओभरको पहिलो बलमा इशान रनआउट भएपछि चौथो विकेट गुमाएको थियो । लगत्तै १६औँ ओभरको पहिलो बलमा शेर मल्लले थरिन्दु रत्नायकेलाई बोल्ड गरे । आरिफ शेख ६ बलमा ४ रन बनाउँदै शेर मल्लकै बलमा डार्शी सर्टबाट क्याचआउट भए । अन्तिम ओभरको दोस्रो बलमा दीपेन्द्रलाई किशोर महतोले डार्शी सर्टको हातबाट क्याचआउट गराए भने स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए । अनिल खरेल २ रनमा अविजित रहे ।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यानले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए । पहिलो स्पेलमा ३ ओभर बलिङ गर्दा उनले ७ रन मात्र दिएर २ विकेट झारेका थिए । शेर मल्लले पनि २ विकेट हात पारे भने किशोर महतो र अभिषेक गौतमले १–१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए ।