काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीले लड्र्स मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पत्रकार सम्मेलन गर्दै ऐतिहासिक खेलबारे जानकारी दिएको हो। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी जुन ३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।
लड्र्समा आयोजना हुने यो खेल नेपाली समयअनुसारको प्रसारणलाई समेत ध्यानमा राखेर तय गरिने एमसीसीले जनाएको छ। उक्त दिन लड्र्समा नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय खेलसँगै इंग्ल्यान्डको घरेलु टी–२० ब्लास्टको खेल पनि हुनेछ। यससँगै लड्र्समा पहिलोपटक एकै दिन अन्तर्राष्ट्रिय र घरेलु पुरुष क्रिकेटका दुई खेल आयोजना हुनेछन्।
नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेशसँगै आयरल्यान्ड र स्कटल्यान्डविरुद्ध पनि खेल्नेछ। एमसीसीको आयोजनामा हुने भ्रमणमा नेपालले कुल ६ खेल खेल्ने तालिका छ। जसमा एक ५० ओभरको खेल स्कटल्यान्डसँग र अर्को आयरल्यान्डसँग हुनेछ। आयरल्यान्डसँग तीन टी–२० खेल पनि खेल्नेछ।
नेपालले यसअघि सन् २०१८ मा एमसीसी र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक शृंखलामा लड्र्समा खेलेको थियो। त्यसैले यो मैदानमा नेपालको दोस्रो पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। बंगलादेशले भने लड्र्समा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। बंगलादेशको पुरुष टोलीले १७ वर्षपछि आगामी मे महिनाको अन्त्यमा इंग्ल्यान्डविरुद्ध लड्र्समा टेस्ट खेल्ने कार्यक्रम पनि छ।
एमसीसी र नेपाल क्रिकेट संघ (क्यान) बीचको पछिल्लो समय विकसित सम्बन्धका कारण यो भ्रमण सम्भव भएको हो। एमसीसीले सन् २०१९ देखि आफ्नो फाउन्डेसनमार्फत नेपालमा क्रिकेट विकास र सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्यानसँगको सहकार्यमा कोशी र मधेश प्रदेशमा सञ्चालित ती कार्यक्रममा गत वर्ष ४५ हजारभन्दा बढी सहभागी भएका थिए।
एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपालमा क्रिकेटप्रतिको असाधारण लगाव रहेको उल्लेख गर्दै क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा थप बलियो बनेको बताएका हुन्। क्यानका सचिव पारस खड्काले लड्र्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए। उनले यो खेल सम्भव बनाउन सहयोग गर्ने एमसीसी र बंगलादेश क्रिकेट बोर्डप्रति आभार व्यक्त गरे। पत्रकार सम्मेलनमा
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि बंगलादेशसँगको खेललाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध लड्र्समा नेपालले खेल्न लागेको यो पहिलो अवसर हुनेछ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष तामिम इकबालले पनि नेपालसँगको ऐतिहासिक खेलमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन्।
नेपालको इंग्ल्यान्ड भ्रमणको खेल तालिकाः
जुन १ : नेपालविरुद्ध स्कटल्यान्ड (५० ओभर), वोम्र्स
जुन ३ : नेपालविरुद्ध बंगलादेश (टी–२०), लड्र्स
जुन ६ : नेपालविरुद्ध आयरल्यान्ड (५० ओभर), वोम्र्स
जुन ९ : नेपालविरुद्ध आयरल्यान्ड (टी–२०), वोम्र्स
जुन ११ : नेपालविरुद्ध आयरल्यान्ड (टी–२०), बेकनह्याम
जुन १२ : नेपालविरुद्ध आयरल्यान्ड (टी–२०), बेकनह्याम
भ्रमणका सबै खेललाई आईसीसीले आधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छ भने इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले स्वीकृति प्रदान गरेको छ।