कोरोनाको कहर : कुखुरा व्यवसायको दैनिक २२ करोड नोक्सान

कोरोनाको कहर : कुखुरा व्यवसायको दैनिक २२ करोड नोक्सान

चितवन : हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् ।

तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु बाहेकको अर्काे विकल्प पाएका छैनन् । दुई साताको लकडाउनले मात्र नभएर बिगत दुई वर्ष यता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित पनि भइसकेका छन् । बैंक सारेर ऋण थपेका कृषक मात्र टिकेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

तर यतिखेरको यो महामारीले त झन् कति व्यवसायी र यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका किसान विस्थापित हुने हुन् भन्ने कुराको आँकलन अहिले नै गर्न गाह्रो भएको छ । चितवन कुखुरापालन व्यवसायको प्रमुख जिल्ला हो । कुखुरापालक कृषक एवं व्यवसायीहरुरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्र्रेल लकडाउन शुरु भएदेखि नै दैनिक कम्तीमा पनि रु २२ करोड ४० लाख ६० हजार यो व्यवसायमा घाटा भइरहेको बताउनुहुन्छ ।

पोख्रेलको भनाइमा चल्लामा रु ३ करोड ४५ लाख ७० हजार, ब्रोईलर तयारी कुखुरामा रु १५ करोड, अण्डामा रु ३ करोड ४५ लाख ९० हजार र अन्यमा रु ५० लाख दैनिक नोक्सान व्यहोर्नु परेको छ । “यो आजसम्मको अवस्था हो, यो लकडाउन अझै लम्बिँदै जाने हो भने यो नोक्सानीले कुन रुप लिने हो अहिले नै भन्न अझै गाह्रोछ” उहाँ भन्नुहुन्छ । पोख्रेल व्यवसायी टिक्नै मुस्किल हुने अवस्थामा पुगेको बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहनुभएका पोखे्रलका अनुसार देशभरमा ८ वटा लेयर्स् चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् । प्रतिगोटा चल्लाको लागत मूल्य रु ९० पर्दछ ।

हाल ती खोरहरुमा १ लाख माउ छन् । अमेरीका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याइएका ती माउको प्र्रतिगोटा रु १ हजार पर्ने पोख्रेलले बताउनुभयो । ब्रोईलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उहाँको भनाई छ । नेपालसँगै थाईल्याण्ड, मलेसिया, फिलिपिन्स, अमेरीका, बेलायत र भातबाट ब्रोईलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ पतिगोटा रु ६ सय ५० पर्दछ ।

ब्रोईलर चल्लाको लागत मूल्य रु ५७.४५ पैसा पर्ने पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार कोईलर र कलर ब्र्रोईलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोईलर र कोईलर भारत र युरोपबाट ल्याइएका हुन् । कलर ब्रोईलरको माउ (प्यारेन्ट) रु १ हजार र कोईलर रु तीन सयमा ल्याइएका हुन् र तिनको लागत मूल्य रु ४० पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् । नेपालमा माउ (प्यारेन्ट) उत्पादन गर्ने ग्रयाण्ड प्यारेन्ट ह्याचरी २ वटा रहेका छन् ।

ती ह्याचरीले मासिक ७० हजार प्यारेन्ट उत्पादन गर्दछन् । पोख्रेलको भनाईमा ती ह्याचरी बाहेकका सबै ह्याचरीको चल्ला खाल्डो खनेर पुर्नुपर्ने बाध्यता रहेको छ । धेरैतिर अब यस्तै गर्नुपर्ने वाध्यता पनि आइसकेको छ । गतवर्ष फागुन यता चल्लाको मूल्य आउन नसक्दा निकै नोक्सान बेहोर्नु परेको उहाँको भनाई छ । चरल्लाको मूल्य नपाएपछि व्यवसायीहरुले १० दिन चल्ला उत्पादन वन्द समेत गरेका थिए । नेपालमा सातामा ४ लाख चल्ला उत्पादन गर्ने अबिनास ह्याचरी पनि छ । जसको ह्याचरीमा मात्र रु ६ अर्ब भन्दा बढी लगानी भएको जनाउदै आएको छ । गएको एक वर्षमा ह्याचरी क्षेत्रमा मात्र रु ३ अर्ब ६५ करोडभन्दा बढी नोक्सान भएको दाबी पोख्र्रेलको छ ।