क्वारेन्टाइन बाट भागेका १४ भारतीयसहित २५ पक्राउ

क्वारेन्टाइन बाट भागेका १४ भारतीयसहित २५ पक्राउ

राजविराज : क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्‍याएको छ । उनीहरुलाई सप्तरीको कंचनपुर–भारदहको बीचबाट नियन्त्रणमा लिइएकाे हाे । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित बाँसघारी नजिक बुधबार राति भारत विहारको अररिया जिल्ला घर भएका १४ जना मुस्लिम युवकलाई स्थानिय बासिन्दाले देखेपछि वडाध्यक्ष तेजनारायण यादवलाई खबर गरेका थिए।

अररिया जिल्ला घर भएका महमद सलिम, महमद इस्तिमाक, अजरत मुसलमान, गेजिस मिया, महमद वारिस, महमद सबिर, शोखिमान मिया, मुस्विर मिया, मगम मिया, तेजाब आलम, महमद समसाद, महमद नाशिस, नाजिब मिया र महमद साहद मियालाई स्थानियले फेला पारी आफूलाई खबर गरेको वडाध्यक्ष तेजनारायण यादवले बताए।

उनीहरु मध्ये कसैले आफूहरु दिल्लीबाट त कसैले काठमाडौंबाट आएको बताएपछि शंका लागेर उनीहरुलाई अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित क्वारेन्टाइनमा लग्ने तयारी गरिरहँदा काठमाडौं तर्फबाट तरकारी पुर्‍याएर फर्किंदै गरेको ज १ च १५७९ नम्बरको पिकअप भ्यानमा सवार भइ उनीहरु भागेका थिए। क्वाराइनटाइनमा राख्ने बताएपछि उनीहरु भाग्दा आफू थप सशंकित भएको वडाध्यक्ष यादवले बताए। उनका अनुसार मध्यरात भइसकेको हुँदा प्रहरीले पनि तत्कालै सहयोग नगर्दा सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरलाई सम्पर्क गरी घटनाबारे जानकारी गराइएको थियो।

मध्यराति सहायक प्रजिअ ठाकुरले प्रहरीलाई आवश्यक कदम चाल्न भनेपछि सक्रिय भएको प्रहरीले उक्त पिकअप भ्यान र त्यसमा सवार १४ जना सहित अन्य ११ जनालाई पनि नियन्त्रणमा लिएको थियो। १४ जनालाई लिएर भागेको पिकअप भ्यानमा सवार भोजपुरको आमचोक ८ का नरबहादुर झार, सुमन तामाङ, अनिश तामाङ, असन तामाङ,भोजपुर बेवारी–२ का धनीलाल उराउ,सुनसरी दुहबी २ का विजयकुमार उराव, सुनसरी मधेवन २ का रमेश कुमार, कुसहाका दिपेशकुमार र चालक अजय परियार, धनुषा मिथिला नपा–७ का सहचालक संजिव परियार र सानो परियारलाई समेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका १४ भारतीय सहित २५ जनालाई नै सप्तरीको महुली स्थित क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ।