मुस्ताङ। समुद्री सतहबाट ४,६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन सीमावर्ती कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातपछि कोरलानाका तथा उपल्लो मुस्ताङका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा हिमपात भएको हो। बेमौसमी हिमपातका कारण कोरलानाका भएर हुने निकासी तथा पैठारीका कन्टेनर ढुवानीमा समस्या उत्पन्न भएको छ। असोज महिनामै हिमपात भएपछि सो क्षेत्रमा चिसो अत्यधिक बढेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा हुनुका साथै बस्ती माथिका लेकहरूमा आंशिक हिमपात भइरहेको छ।
यसैबीच, वर्षा र हिमपातका कारण आउन सक्ने बाढीपहिरो तथा नदी कटानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित क्षति न्यूनीकरणका लागि काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मका सडकमा चार दिनका लागि साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिएका छन्।
त्यस्तै, घरपझोङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलसतह बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन शुक्रबारदेखि माइकिङ सुरु गरेको छ। निरन्तरको वर्षाका कारण मुस्ताङका परम्परागत माटो र ढुङ्गाले बनेका घरहरू चुहिने र भत्किने जोखिम बढेपछि स्थानीयहरू घर जोगाउन छत र गारोमा त्रिपाल तथा प्लास्टिक हाल्न बाध्य भएका छन्।