कालीमाटी र बल्खुमा भीड कम गर्न अन्य ११ स्थानमा तरकारी बिक्री केन्द्र खोल्ने तयारी

कालीमाटी र बल्खुमा भीड कम गर्न अन्य ११ स्थानमा तरकारी  बिक्री केन्द्र खोल्ने तयारी

काठमाडौँ : सरकारले कालीमाटी र बल्खुको तरकारी तथा फलफूल बिक्री गर्दा हुने भीडभाड कम गर्न अन्य ११ स्थानमा बिक्री केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सोमबार बसेको सुरक्षा, स्वास्थ्य, कृषि र काठमाडौं महानगरपालिकाका अधिकारी तथा तरकारी र फलफूल बिक्रेता संघका पदाधिकारी सम्मिलित बैठकले तरकारी र फलफूलका थोक बिक्री केन्द्र विस्तारको निर्णय गरेको हो।

बैठकले भारतबाट भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्ण रुपमा रोक लगाउन पनि गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ।तरकारी र फलफूल बोकेका मालवाहक सवारी भारत हुँदै आउँदा भारतीय नागरिक पनि प्रवेश गर्न सक्ने भन्दै आयातमै अस्थायी रोक लगाउन गृहमा सिफारिस गरेको छ। व्यवसायीलाई पनि भारतबाट तरकारी तथा फलफूल आयातको माग नपठाउन निर्देशन दिएको छ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार बल्खु र कालीमाटीबाहेक कलंकी, वाफल, स्वयम्भू, वनस्थली, गोंगबु, बसुन्धरा, गोपीकृष्ण, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा फलफूल र तरकारीका थोक बिक्री केन्द्र खोल्ने निर्णय भएको हो। तोकिएका ११ स्थानमा बिक्री केन्द्र सञ्चालन र समन्वयका लागि प्रशासनले काठमाडौं महानगरपालिका, कालीमाटी फलफूल तथा तरकारी व्यवस्थापन विकास समितिलाई निर्देशन दिएको छ। बिक्री केन्द्र खोल्न सुरक्षा निकमयहरुसँग पनि आवश्यक समन्वय गर्न बैठकले निर्देशन दिएको छ।

‘सीमित ठाउँमा मात्रै बिक्री केन्द्र हुँदा मानिसको भीडभाड र चाप भएकोले कोरोनाविरुद्धका प्रतिकार्य योजना लागू गर्नेक्रममा तरकारी तथा फलफूलको थोक बिक्री केन्द्र बिस्तार गर्ने निर्णय भएको हो,’ आचार्यले कान्तिपुरसँग भने, ‘यसले कोरोना भाइरस रोकथामका लागि सामाजिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड अन्त्य गर्नुका साथै उपभोक्तालाई पनि राहत मिल्ने छ।’