मृतकको संख्या ६८ हजार नाघ्यो, २४ घण्टामा ५८ हजार संक्रमित थपिए

मृतकको संख्या ६८ हजार नाघ्यो, २४ घण्टामा ५८ हजार संक्रमित थपिए

काठमाण्डौ : कोरोना भाइरसले अहिलेसम्म ६८ हजार ४ सय १८ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल १२ लाख ६० हजारभन्दा बढि संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ६० हजार निको भएका छन् । तर उपचाररत ९ लाख ३१ हजारमध्ये करिब ४६ हजारको अवस्था गम्भीर छ । यो भाइरस विश्वका २ सय ८ देशमा फैलिएको छ ।

सबैभन्दा बढि संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ३० हजार पुगेको छ । त्यस्तै एकदिनमै अमेरिकामा १८ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने आइतबार मात्रै ९ सय ९१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको कुुुल संख्या ९ हजार ४ सय ४३ पुगेको छ । त्यस्तै फ्रान्समा  संक्रमित हुनेको कूल संख्या ९० हजार पुगेको छ । मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ ।

सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । इटालीमा एकैदिन ५ सय २५ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २९ हजार पुगेको छ । उता स्पेनमा एकैदिन ४ सय ७१ जनाको मृत्यु भएको छ ।

योसहित स्पेनमा मर्नेे संख्या १२ हजार ४ सय १८ पुगेको छ । त्यसैगरि चिनमा मर्नेको संख्या ३ हजार २ सय २९ पुगेको छ । नियन्त्रणमा आइसकेको भनिए पनि चिनमा ३० जना नयाँ संक्रमित भेटिए भने ३ जनाको मृत्यु भएको छ ।

बेलायतमा पनि कोरोना तीब्र गतिमा फैलिएको छ । आइतबार त्यहाँ ६ सय २१ जनाको मृत्यु भयो भने ६ हजार नयाँ संक्रमित भेटिए । त्यहाँ कुल संक्रमितको संख्या ४८ हजार पुग्न लागेको छ भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

चिनमा अहिले पनि १३ सय ७६ जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ६ सय ६९ हो ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म ३ हजार ५ सय ८८ जना संक्रमित छन् भने ९९ जनाको मृत्युु भइसकेको छ ।