नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।

भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनकी भाउजुलाई पनि कोरोना संक्रमण भएको हो। 'दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ', स्रोतले भन्यो, 'यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ । पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।