विराटनगरमा वन रक्षक र सिकारीबीच गोली हानाहान

विराटनगरमा वन रक्षक र सिकारीबीच गोली हानाहान

विराटनगर : लकडाउनको मौका छोपी चारकोसे जंगलमा वन्यजन्तुको अवैध सिकार गर्न खोजदा वन रक्षक र सिकारीबीच गोली हानाहान भएको छ । यसै क्रममा वन्यजन्तुको अवैध सिकार गर्ने तीनजनालाई शुक्रबार सशस्त्र प्रहरीको राजमार्ग सुरक्षार्थ टोली र सशस्त्र वन रक्षकले हतियारसहित पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गर्दा सिकारीले ९ राउण्ड र सशस्त्र वन रक्षकले ७ राउण्ड हवाइ फायर भएको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए । उनका अनुसार हवाइ फायरबाट कोहीपनि घाइते भएका छैनन् । सुन्दरहरैंचाको सलकपुर सामुदायिक वन र लोहन्द्रा सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुईपक्षबीच गोली हानाहान भएको घिमिरेले बताए । उनका अनुसार सिकारी टोलीमा झण्डै २५ जनाको समूह थियो ।

पक्राउ पर्नेमा केराबारी-८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल छन् । दुई थान भरुवा बन्दुकसहित पक्राउ परेका उनीहरुलाई वन ऐन र हातहतियार खरखजना ऐन अर्न्तगत कारबाही गरिने घिमिरेले बताए ।