नारायणगढ (चितवन)। त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवहरूलाई भविष्यमा आफन्तजनले चिन्न सक्ने गरी वैज्ञानिक विधि अनुसार भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेर आएका शवहरू लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को मापदण्ड अनुसार वैज्ञानिक ढङ्गले जमिनमुनि गाड्न सुरु गरिएको हो।
चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटीय क्षेत्रमा हालसम्म २५९ वटा शव फेला परेका छन्, जसमध्ये नौ जनाको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ।
पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डिएनए नमूना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने बाँकी शवहरू पनि व्यवस्थापनको क्रममा रहेका छन्। डिएनएका लागि नमूना सङ्कलन सम्पन्न भएका शवहरूलाई क्रमशः १.५ मिटर गहिरो खाडलमा एक-एक गरी राखिनेछ भने एउटा खाडलबाट अर्कोको दूरी ४० सेन्टिमिटर कायम गरिएको छ। भविष्यमा डिएनए परीक्षणबाट पहिचान पुष्टि भएमा शव सहजै निकाल्न सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग बाँधिएको छ। शव जमिनमुनि व्यवस्थापन गरेपछि ठ्याक्कै त्यसको माथि देखिने गरी स्ट्यान्ड राखेर सामान्य कङ्क्रित ढलान गरी सोही कोड नम्बर अङ्कित गर्ने गरिएको छ।
भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा. कश्यप श्रेष्ठका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने-गल्ने भएकाले बाह्य रूपमा चिन्न कठिन भएसँगै डिएनए परीक्षणका लागि आवश्यक जैविक नमूना र पछाडिका मोलार दाँतका नमूना सुरक्षित रूपमा सङ्कलन गरिएको छ। पुरानो मेडिकल कलेज भरतपुरका दन्तरोग विशेषज्ञ डा. प्रभास रोयले दाँत तथा बङ्गारा र दाँत नभएका शवको हकमा हड्डीका टुक्रा निकालेर फरेन्सिक टोलीलाई बुझाइएको जानकारी दिएका छन्।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार ठूलो सङ्ख्यामा शवहरू एकैपटक ल्याइएकाले व्यवस्थापन चुनौतीपूर्ण भए पनि ११ जनाभन्दा बढी फरेन्सिक विज्ञ तथा चिकित्सकीय टोली परिचालन गरी काम अघि बढाइएको छ। शवबाट सङ्क्रमण फैलिन नदिन आवश्यक सतर्कता अपनाइनुका साथै जिल्ला सुरक्षा निकाय, स्वयंसेवक र विभिन्न सङ्घसंस्थाको सहयोगमा पहिचान र व्यवस्थापनको कार्य भइरहेको छ।