चीनले गर्‍यो थप जोखिमको संकेत, आपत्कालीन प्रतिकार्यको व्यवस्था मिलाउन आग्रह

चीनले गर्‍यो थप जोखिमको संकेत, आपत्कालीन प्रतिकार्यको व्यवस्था मिलाउन आग्रह

काठमाडौं । चीनले बाढीको जोखिम नटरकेको संकेत गर्दै नेपाललाई आपत्कालीन प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार एक वक्तव्य जारी गर्दै नेपाललाई उक्त अनुरोध गरेका हुन् ।

दूतावासका प्रवक्ताका अनुसार हालैका दिनहरूमा, चीन–नेपाल सीमा नदीको माथिल्लो तटीय क्षेत्रको नेपाली भूभागमा पर्ने एक सहायक नदीमा हिम–पहिरो (बर्फ र चट्टानको पहिरो) जाँदा नदी थुनिएर सीमा क्षेत्रमा पहिरो–जन्य ताल (कृत्रिम ताल) बनेको छ । 

उक्त पहिरो–जन्य तालमा हाल पानीको सतह उच्च विन्दुमा पुगेको र ओभरफ्लो (पानी बाहिरिन) थालेको छ, जसले गर्दा थप ताल फुट्ने जोखिम बढेको चिनियाँ दूतावासका प्रवक्ताको भनाई छ ।

“नेपाल र चीन दुवै देशका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले यो स्थिति हाल निकै संवेदनशील/नाजुक मोडमा छ। पहिरोजन्य तालको तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बद्ध कर्मचारीहरूलाई नदीको पानीको सतहमा हुने परिवर्तनलाई नजिकबाट नियाल्न, उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिन्छ,” चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन् ।

चीन र नेपालका सम्बन्धित निकायहरूले स्थितिको निरन्तर अनुगमन गर्दै जोखिमको मूल्यांकन र व्यवस्थापन गरिरहेको वक्तव्यमा उल्लेख छ ।

सर्वसाधारणलाई आधिकारिक सूचनाहरू मात्र पछ्याउन, पुष्टि नभएका खबरहरू नफैलाउन र अनावश्यक त्रास सिर्जना नगर्न चिनियाँ दूतावासले अनुरोध गरेको छ । 

छुटाउनुभयो कि ?