काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार निरन्तर रूपमा चलिरहेको छ। आज बिहान ८ बजेसम्ममा नेपाली सेनाका हेलिकप्टरबाट २ हजार ४ सय ६५ जनाको उद्धार भएको छ।
भदाै १० गतेको विनाशकारी बाढीबाट प्रभावित टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक मात्रै १६३ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।
जसमा ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकन, २ इटालियन, १ ओमान, १५ कोरियन नागरिक छन्। टनेलबाट उद्धार गरिएका १ सय ९१ जनासहित २२६५ जना र स्थल उद्धार २ सय जना गरी जम्मा २ हजार ४ सय ६५ जनाको उद्धार गरिएको हो।
नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्रहरू त्रिशूली र धुन्चेमा गरी हालसम्म १७ सय ६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ६ हजार ७ सयभन्दा धेरै फौज खटिएका छन्।
समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ। विभिन्न राहत सामग्रीहरू काठमाडौँबाट त्रिशूलीसम्म स्थल मार्गबाट ढुवानी गरी हवाई साधनमार्फत पीडितस्मम पठाइएको छ।
अहिलेसम्म ३६ सय के.जी. त्रिशूली थ्री ए टनेल इलाकामा, ५ सय के.जी. मैलुङमा, २२० के.जी. बेत्रावतीमा ढुवानी गरिएको छ।
नेपाली सेनाको ८४ जनासहित सशस्त्र र नेपाल प्रहरी गरी १४६ जनाको टोली त्रिशूली थ्री ए टनेल इलाकामा भाद्र १२ गतेदेखि उद्धार कार्यमा खटिइरहेका छन्।