जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । 

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् । 

‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ । र,  केही कुरा पनि गर्‍यौँ', उनले भने, 'त्यसक्रममा उहाँले देशको कुरा हो कन्फिल्क्टि अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो । तर लिखित आउन बाँकी छ केहीबेरमा आउँछ ।’

यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो । 

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा प्रश्न उठाएका थिए ।

यसबारे स्पष्ट हुन भनेर संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विवरण मागेको थियो । त्यसको जवाफ पनि परराष्ट्रले दुतावासमार्फत पठाएको थियो ।