काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार बसेको पूर्ण बैठकले सार्वजनिक रूपमा उठेका प्रश्नबारे पूर्वाग्रहबिना निष्पक्ष र स्वतन्त्र ढंगले संविधान र कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ ।
पूर्ण बैठकले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायकर्मीहरूलाई सोमबार विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ । इनम सापकोटा प्रकरणमा सर्वोच्चका केही न्यायाधीश समेत मुछिएपछि सर्वोच्चको फुलकोर्ट बसेको थियो ।