वासिङ्टन: संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिनुभयो ।
उहाँले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताउनुभयो । फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिनुभयो । कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताउनुभयो । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।
संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा देश अहिले लकडाउनमा छ । अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, शैक्षिक संस्थाहरु पनि बन्द छन् । सरकारले घर बाहिर ननिस्किन सबैलाई निर्देशन दिएको छ । यस्तो अवस्था कहिलेसम्म रहला भन्ने यकिन छैन ।
यदि लामो समयसम्म लकडाउन भएमा विद्यार्थीहरुको पढाइ प्रभावित हुनसक्ने भन्दै शिक्षा मन्त्रालयका अधिकारीहरु पढाउने नयाँ तरिकाको तयारीमा जुटेका छन् ।