कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण

छेडागाड : छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उहाँलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

राति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गर्नुभएको छ । दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

वडाध्यक्ष सिंहमाथि गएराति भएको आक्रमणप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गर्नुभएको छ । उहाँले कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारवाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गर्नुभएको छ ।