कोरोना भाइरसले धर्ममा पनि असर गर्दै, चैते दशैँ र नवरात्र दुबै सुनसान

कोरोना भाइरसले धर्ममा पनि असर गर्दै, चैते दशैँ र नवरात्र दुबै सुनसान

महोत्तरी : मिथिला क्षेत्रमा उत्सवमय रुपमा मनाइने वासन्ती नवरात्र (वसन्त ऋृतुमा मनाइने नवरात्र) यसपालि सुनसान छ । चैत शुक्ल प्रतिपदासँगै शुरु भएर नवमीसम्म मनाइने चैते दशैँ समेत भनिने वासन्ती नवरात्र यस वर्ष कोरोना सन्त्रासले सुनसान बनेको हो ।

चैतशुक्ल प्रतिपदासँगै शुरु भएको वासन्ती नवरात्रमा कतै मेला (जात्रा) उत्सवको रौनक छैन । कोभिड–१९को जताततै सन्त्रास छाएसँगै सरकारले ‘लकडाउन’ घोषणा गरेपछि यसअघि खचाखच श्रद्धालुले भरिने देवी शक्तिपीठ र मन्दिरमा सन्नाटा छ । पर्वका अवसरमा मन्दिरैपिच्छे वाचिने चण्डी पाठ पनि कतै सुनिएका छैनन् । वासन्ती नवरात्रभित्रै मनाइने वासन्ती छठ (चैती छठ) को पनि यसपालि केही चालचुल देखिएको छैन । चैत शुक्ल चौथीदेखि सप्तमीसम्म निष्ठाका साथ मनाइने चैती छठ पर्व यस वर्ष एक ठाउँ जम्मा हुन नै नसकिने भएपछि घरमै व्रत बसेर सम्पन्न गरिने चैती छठका ब्रतालुले बताएका छन् ।

सूर्यदेवको उपासना गरिने छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपालि नहुने भएको छ । जताततै असामान्य स्थिति बनेपछि चाडपर्व खल्लो हुने भएका सर्वसाधारणको भनाइ छ । विश्वभरि नै सन्त्रासले घर जमाएका बेला चाडपर्वको त्यसै पनि रौनक हराएको पछिल्ला १५ वर्षयता चैती छठ मनाउँदै आउनुभएका महोत्तरी, भङ्गाहा नगरपालिका–४ की कञ्चनविन बताउनुहुन्छ । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक छठ पर्व मनाइने मैथिल परम्परा छ । शरद्मा मनाइने छठ कात्तिकशुक्ल चौथीदेखि सप्तमीसम्म मनाइन्छ ।

पर्वका मुखमा परिस्थितिवश बजार, यातायात र सामान्य आवतजावत पनि बन्देज भएपछि मिथिलामा यसपालि वासन्ती नवरात्र र छठ पर्वको उल्लास नहुने भएको हो । बाँचिरहे यस्ता पर्व फेरिफेरि मनाइने बताउँदै यसअघि पर्व मनाउँदै आएकाहरुले कोरोनाबाट बच्ने उपायको अवलम्वन मुख्य कुरा हुने जनाएका छन् ।