कर्मचारी कार्यालय आए तर काम गरेनन्

कर्मचारी कार्यालय आए तर काम गरेनन्

काठमाडौँ : सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित संक्रमण रोकथाम गर्न अत्यावश्यकबाहेकको सेवा बन्द गरेपछि आइतबार सरकारी कार्यालय सुनसान रहयो । सेवाग्राहीको अत्यधिक भीड रहने जिल्ला प्रशासन, यातायात व्यवस्था कार्यालय, मालपोत, नापी, कर कार्यालयलगायत सुनसान देखिएका हुन् । सेवाग्राहीको अत्यावश्यक काम नभएकाले नगरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

‘सेवाग्राही आएका थिए । अत्यावश्यक काम नभएकाले हामीले भित्रै छिराएनौं,’ उनले भने । प्रशासनले नागरिकता, राहदानी, नाबालक परिचयपत्र, संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरणलगायत सेवा तत्काललाई स्थगित गरेको सूचना जारी गरेको छ । सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षालगायत अत्यावश्यक सेवासँग सम्बन्धित कार्य यथावत् रहनेछन् ।’ प्रशासनले जिल्लाका सबै सरकारी कर्मचरी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले यथावत् रूपमा कार्यालमा उपस्थित भई काम गर्न निर्देशन दिएको छ ।

त्यस्तै, संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा चैत २१ सम्मै बन्द हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । काठमाडौं प्रशासनले शान्तिसुरक्षालाई अत्यावश्यकभित्र राखेको छ भने भक्तपुरले शान्ति सुरक्षाको निवेदन लिने कार्यसमेत बन्द गरेको छ । भक्तपुर प्रशासनले जारी गरेको सूचनामा नयाँ नागरिकता जारी, प्रतिलिपिसम्बन्धी, राहदानीको आवेदन नलिने उल्लेख छ । ललितपुरले पनि नागरिकता र राहदानीको काम रोकेको छ ।