बेलहिया नाकाबाट दैनिक २० हजार नेपाली स्वदेश फर्किदै

बेलहिया नाकाबाट दैनिक २० हजार नेपाली स्वदेश फर्किदै

लुम्बिनी : स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । रोजगारी तथा पढाइका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली यतिबेला स्वदेश फर्किरहेको दसगजाको सहायता कक्ष ‘हेल्थ डेस्क’मा बसेका स्थानीयवासी धर्मराज गिरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक हप्तादेखि म यहीँ डेस्कमा छु । दैनिक करीब २० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएको देखिएको छ ।”

दसगजामा सिद्धार्थनगरपालिकाको अगुवाइ, स्थानीयवासीको सहभागिता तथा सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच पनि भइरहेको छ । “शरीरको तापक्रम जाँच गरेर र स्यानिटाइजरले हात धुवाएर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ”, स्थानीय बासिन्दा रमेश थापाले भन्नुभयो ।

भारतमा भारत सरकारले जनता कफ्र्यू लगाएपछि र भारतीय विभिन्न शहरमा कोरोना सङ्क्रमित देखिएको समाचार बाहिरिएपछि अधिकांश भारतीय पनि नेपाल आइरहेको बताइएको छ । भारतको गोरखपुर, बनारस, लखनऊ, दिल्ली, पञ्जाब, बम्बई, बैङ्गलोर, चेन्नईलगायत क्षेत्रबाट बेलहिया नाका हुँदै स्वदेश फर्किनेहरु नेपाल प्रवेश गरेका हुन् । सरकारले नेपाल–भारत बस सेवा बन्द गरेको भए पनि र भारतमा सार्वजनिक यातयात बन्द भए पनि निजी सवारीसाधन बुक गरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।