काभ्रे : टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सुचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए। उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए। सोमबार साँझदेखि भएको आन्दोलन नियन्त्रणमा नआएकोले कर्फ्यु जारी गरेको हो। आक्रोशित भीड र प्रहरीबीच झडप समेत भएको थियो। त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार र आन्दोलनकारी घाइते भएका थिए।