लुकाएर राखेको ६ लाख थान मास्क बरामद

लुकाएर राखेको ६ लाख थान मास्क बरामद

काठमाडौं :काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने २७ वर्षीय सुवास महेश्वरी, कपनमा पोते पसल सन्चालन गर्दै आएका २६ वर्षीय अजिम बबस मिया र मिलनचोक प्लास्टिक सप्लायर्सका २४ वर्षीय सञ्जन कुमार रेग्मी छन् । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान , डल्लुबाट ७८ हजार थान र कपनको मिलन चोकबाट एक लाख ६८ हजार मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

डल्लु, कपन र सतुंगलमा मास्क लुकाएर राख्नेहरुबीच सञ्जाल रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।