दैलेख : जिल्लाको नौमुले गाउँपालिका २ मा स्याल धपाउँन हानेको गोलि लागेर एक जना घाइते भएका छन्। बाख्रा चराउन जंगल गएको बेला स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाही घाइते भएका हुन्।
स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर शाहीको हात र खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर साँवतले बताए। घाइते युवक शाहीलाई उपचारका लागि स्वास्थ्य कार्यालय दैलेख ल्याइएको र दैलेखमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इन्स्पेक्टरको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगिसकेको र घटनास्थलमा अहिलेसम्म कुनै पनि हतियार फेला नपरेको निमित्त प्रहरी प्रमुख साँवतले बताए।