काठमाडौ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी अधिकृत सन्तमाया श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
काठ व्यापारीहरूसँग दुई लाख तीन हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
काठ व्यापार गर्ने व्यापारीहरूसँग घुसररिसवत रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचनाको आधारमा अख्तियारले श्रेष्ठलाई भक्तपुरको गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको छ, उनले भने।
बिहीबार चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको दुई लाख तीन हजार पाँच सय रुपैयाँ उनको साथबाट बरामद गरिएको थियो। श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।