काठमाडौँ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली भई काठमाडौँ लगाएत पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जुवासीले बताउनुभयो ।
उक्त प्रणालीको प्रभाव आज पश्चिमी भूभागमा मात्र रहने बताइएको छ । “पश्चिमी वायु भोलिबाट पूर्वी र मध्य पहाडी भूभागमा समेत सक्रिय हुनेछ”, उहाँले भन्नुभयो । हाल देशका केही पश्चिमी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागकालगायत मध्यका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना, र हावाहुरीसहित वर्षाको सम्भावना औँल्याइएको छ ।
शनिबार देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भूभागका एक÷दुई स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव चभार डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम २९ दशमलव एक डिग्री र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।