ओखलढुंगा : ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । विरगञ्जबाट ओखलढुंगाको रुम्जाटारतर्फ आउदै गरेको प्रदेश नं ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो जिप बिहीबार बिहान जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिपमा सवार १२ जनामध्ये ११ जना घाइते भएका छन् । घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।
घाइतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालक पर्सा जिल्ला घर भएका वर्ष २१ का अनिलकुमार सहनीको अवस्था गम्भीर छ । उनको ढाड भाँचिएको र शरीरको अन्य भागमासमेत गहिरो चोट लागेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परेर घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं। ४ रुम्जाटारका वर्ष ४० का राजन घले, वर्ष ३९ का सनम घले र वर्ष ३८ को बलबहादुर श्रेष्ठ, पर्सा जिल्ला घर भएका वर्ष २५ की सुगम्भीदेवी मुखिया, रामेछाप जिल्लाका वर्ष ३० का कपिल मगर, सिद्धिचरण नगरपालिका वडा नंं। १२ वस्ने वर्ष ३४ को विराज थापा छन् ।
त्यस्तै घाइते हुनेमा पर्सा जिल्लाका वर्ष १७ का राजकुमार सहनी, वर्ष २२ का हिरालाल मुखिया, पर्सा जिल्लाका सुगम्भीदेवीकी ३ वर्षकी छोरी अञ्जुकुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाश कुमार मुखियाको पनि अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार पर्साका वर्ष १९ का कृष्ण चौधरी भने सकुशल छन् ।
गम्भीर घाइते भएकाहरु चालकसहनी, सुगन्भीदेवी मुखिया र उनका दुई सन्तानलाई थप उपचारका लागि हेलिकप्टरवाट काठमाडौं पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
विरगञ्जबाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं। ४ रुम्जाटारमा रहेको महिन्द्रा सोरुमको सामान, सोरुमका सञ्चालक र कामदारहरु बोकेर आएको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बोलेरो सडकवाट करीब १ सय ५० मिटर तल खसेको छ ।