विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई रिहा गर्न दबाब

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई रिहा गर्न दबाब

काठमाडौँ : जडीबुटीस्थित जागृति एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई रिहा गरिदिन अभिभावकहरूले नै दबाब दिएका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा रहेकी सामाजिक विषयकी शिक्षिका कर्माचार्यलाई रिहाइ गर्न अभिभावकहरूले दबाब दिएका हुन् । परीक्षामा कम नम्बर ल्याएको भन्दै कर्माचार्यले विद्यालयमा कक्षा ६ का २७ र ७ का ९ जना विद्यार्थीलाई बिहीबार ब्लेडले नाडी चिर्न लगाएकी थिइन् ।

त्यसको भोलिपल्ट शुक्रबार अभिभावकहरू उजुरी गर्न विद्यालय पुगेका थिए । फागुन २३ गते विद्यार्थीलाई ब्लेडले चिर्न लगाउने शिक्षिका कर्माचार्यलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बर्खास्त गरिएको थियो । शनिबार प्रहरीले कर्माचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

शनिबार पक्राउ परेकी शिक्षिका कर्माचार्य आइतबार र सोमबार पनि सार्वजनिक बिदा भएका कारण अदालतबाट म्याद लिएर उनको अनुसन्धान हुन सकेको छैन । मंगलबार उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा प्रहरीले यातना भोगेका विद्यार्थीका अभिभावक र एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठलाई वृत्तमा बोलाएर घटनाबारे जानकारी लिएको थियो ।

वृत्तका डीएसपी दुर्गाराज रेग्मीले प्रहरी हिरासतमा रहेकी शिक्षिकालाई रिहाइ गर्न प्रिन्सिपल र अभिभावकबाटै दबाब आएको बताए । ‘शिक्षिकाले घटनामा माफी मागिसक्नुभएको छ, एक पटकलाई हामी माफी दिन्छौं छोडिदिनुपर्‍यो भन्दै अभिभावकहरूले उजुरी नै दिन चाहनुभएको छैन,’ डीएसपी रेग्मीले भने, ‘तर कसुर गर्नेलाई अनुसन्धान नगरी रिहा गर्ने भन्ने कुरा नै हुँदैन ।’

शिक्षिकाविरुद्ध विद्यालय र अभिभावकका तर्फबाट जाहेरी नपरे पनि ‘बालबालिकासम्बन्धी ऐन–२०७५’ अनुसार मुद्दा दायर गरिने उनले बताए । सो ऐनको परिच्छेद ८ को दफा ६६ मा बालबालिकालाई विद्यालयमा कुनै किसिमको यातना, धम्की वा त्रास दिन नपाइने उल्लेख गरिएको छ ।