होलीमा इच्छा विपरीत रङ र लोला हान्नेलाई तत्काल पक्राउ गरिने

होलीमा इच्छा विपरीत रङ र लोला हान्नेलाई तत्काल पक्राउ गरिने

सुर्खेत : देशका पहाडी जिल्लामा आज फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ।

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावका साथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

यसैबीचमा होलीमा सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला रमेश न्यौपानेले जानकारी दिए।

मर्यादापूर्वक होली मनाउन नागरिकलाई आग्रह गरेका प्रमुख जिल्ला अधिकारी न्यौपानेले उश्रृखल कार्य गर्नेलाई कारवाही गर्न प्रहरीहरु पनि परिचालन गरिएको बताए।

‘उपत्यकामा होली खेल्ने बहानामा लोला हान्ने, मापसे गरेर सवारी चलाउने र हेल्मेट नलगाएर मोटरसाइकलमा तीन जना चढाएमा तत्काल सवारी नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन पनि दिइसकेका छौं’ प्रजिअ न्यौपानेले भने।

उपत्यकामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सादा र पोशाकसहितका प्रहरी परिचालन गरिएको जनाएको छ। होली पर्वको अवसरमा आज सरकारले पहाड र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइँदै छ।