देशकै ठूलो औद्योगिक क्षेत्र बागमती प्रदेशमा बन्दै

देशकै ठूलो औद्योगिक क्षेत्र  बागमती प्रदेशमा बन्दै

हेटौंडा : बागमती प्रदेश सरकारले देशकै ठूलो औद्योगिक क्षेत्र बनाउने भएको छ। प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुर गढीमा देशकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्ने मुख्य योजना साथ अगाडि बढिरहेको छ। आफ्नो पहिलो नीति तथा कार्यक्रममा पनि समावेश गरिएको यो योजना प्रदेशको मुख्य योजनामा परेको प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले १२ करोडको लागतमा २ स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यको सुरुवात चालु वर्षदेखि हुने मन्त्रालय उद्योग शाखा प्रमुख हेम पाठकले बताए। ६ हजार रोपनीमा औद्योगिक क्षेत्र बागमती प्रदेश सरकारले ६ हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र सम्भवतः देशको ठूलो औद्योगिक क्षेत्र हुने पाठकले बताए।

प्रदेश सरकारले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएको उक्त औद्योगिक क्षेत्रले प्रदेशको विकासको लागि ठूलो भूमिका निर्वाह गर्नेछ। यस्तै, मकवानपुरको मनहरीको ज्यामिरेदेखि सुनाचुरीसम्म बन्ने औद्योगिक क्षेत्रको सुरक्षाका लागि राप्ती खोलाको तट बाँधिने भएको छ।

त्यस्तै औद्यौगिक क्षेत्रको अघिल्लो वर्ष सम्भाव्यता अध्ययन भई यस वर्ष डिपिआर तयार भएको छ। प्रदेशकै ठूलो परियोजनालाई अहिलेको सरकारको ५ वर्षको अवधिमा तयार गरी सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

औद्योगिक क्षेत्रमा ठूला उद्योगहरू धेरै हुने जनाइएको छ। २ हजारले रोजगारी पाउने बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा मनहरी औद्योगिक क्षेत्रमा कागज कारखाना खोल्ने भएको छ। कागज कारखाना स्थापना गर्नका लागि आवश्यक कच्चा पदार्थ चितवन राष्ट्रिय निकुञ्जको घाँस प्रमुख हुने बताइएको छ। निकुञ्जमा खेर जाने घाँसको उपयोग गरिने र कागज उद्योगका लागि छुट्टै घाँस खेती पनि गरिने बताइएको छ।

प्रदेश सरकारले कागज उद्योग सञ्चालनमा ल्याउँदा २ हजार जनाका लागि रोजगार सिर्जना हुने आफ्नो कार्यविधिमा पनि उल्लेख गरेको छ। औद्योगिक क्षेत्रले धेरै बेरोजगारहरू रोजगारी पाउनेछन्। त्यस्तै, मन्त्रालय विभिन्न तालिमहरू प्रदान गर्दै युवाहरूलाई सीपमूलक तालिमहरु पनि प्रदान गर्दै आएको छ। बागमती प्रदेश सरकारको क्षेत्रभित्र हालसम्म ६ हजार उद्योगहरू सञ्चालनमा छन्।