१२ वर्षपछि पत्रकार साहका हत्या आरोपी पक्राउ

१२ वर्षपछि पत्रकार साहका हत्या आरोपी पक्राउ

वीरगञ्ज : १२ वर्षपछि पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार पक्राउ परेका छन् ।

फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले अनलाइनखबरलाई जानकारी दिए । फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पंगेनीले बताए । एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो ।

शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएको छ । फौजदारसम्ब‍न्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए । बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । राजनीतिक पहुँचकै आधारमा उनीहरूमाथि कारबाही नभएको टिप्पणी हुँदै आएको थियो ।