चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ बर्षीय बालक

चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ बर्षीय बालक

काठमाडौ : गुल्मीको मदाने गाउँपालिका–७, भनभने नेटाखर्क गाउँका ११ वर्षीय मनिष खड्का आर्थिक अभावका कारण चन्दा उठाएर बाबुको काजकिरिया गरिरहेका छन् ।

दुबै मिर्गौला फेल भएका उनका पिता रामबहादुर खड्काको उपचारमा पनि रकम अभावका कारण चन्दा उठाइएको थियो । उपचार कै क्रममा फागुन १५ गते ४२ वर्षको उमेरमा रामबहादुरको मृत्यु भएपछि काज किरियाका लागि समेत रकम अभाव भएको हो ।

छिमेकीले शाहघाटबाटै काज किरियाका लागि चन्दा उठाउन सुरु गरे । नगद तथा अन्न संकलन गरेर काज किरियाको खर्च जुटाइएको छिमेकीहरुको भनाइ छ । घरमा तीन महिना पनि खान नपुग्ने जमिन भएका खड्का परिवारले दैनिक निमेक मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए ।

मनिष आफैँ पनि बिरामी नै छन् । हर्नियाबाट ग्रसित उनको उपचार गर्न पनि नसकिएको परिवारको भनाइ छ । सुरुमा पिताको उपचारमै ध्यान केन्द्रित गरिएको र अहिले काज किरियामा लाग्नु परेका कारण मनिषको उपचार हुन नसकेको हो । मनिषकी आमा निर्मला खड्काले छोराको रहरमा १० सन्तानको जन्म दिएको बताईन् । १० सन्तानमध्ये मनिषमात्र छोरा हुन् ।

खड्का परिवारको बिचल्लीको खबर सुनेर स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० का नेता बुद्धि जिसी सहयोग रकम लिएर पुगेका थिए । उनले आफ्नो तर्फबाट ३५ हजार नगद सहयोग मृतककी जेठी छोरी पवित्रालाई हस्तान्तरण गरे । अहिले काज किरिया कसरी टार्ने भन्ने चिन्ता भएको र त्यसपछि पनि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताइरहने निर्मलाको भनाइ छ ।