राम्रो अंक नल्याएको भन्दै शिक्षिकाले नै लगाइन् ३४ विद्यार्थीको हात ब्लेडले चिर्न

राम्रो अंक नल्याएको भन्दै शिक्षिकाले नै लगाइन् ३४ विद्यार्थीको हात ब्लेडले चिर्न

काठमाडौँ : परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन्।

१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए ।

निर्देशन नमाने आफै चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए । पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् ।

सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ । जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए। उनको देब्रे नाडी २० ठाउँमा चिरिएको छ। आलो घाउ देखाउँदै सविनले भने, ‘कम नम्बर ल्याउनेले धेरै काट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले काटिदिने चेतावनी दिनु भएको थियो ।

परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले डराइडराई धेरै काटें ।’ सविनकै सहपाठी अरुण तामाङले पनि ५ नम्बर नै ल्याएका थिए । अरुणको १६ ठाउँमा काटिएको छ । ९.५ अंक ल्याएका कक्षा ६ कै अमृत गौतमको उनीहरूको भन्दा केही कम चिरिएको छ । सबैभन्दा कम सोही कक्षाका सार्थक श्रेष्ठको एक ठाउँमा मात्रै चिरिएको छ । उनले १४.५ नम्बर ल्याएका थिए ।