तिहारमा मखमली, सयपत्री फूलेपछि… (फोटोफिचर)

तिहारमा मखमली, सयपत्री फूलेपछि… (फोटोफिचर)
म्याग्दी- नेपालीहरुले दोस्रो महान् पर्व तिहार मनाइरहेका छन । धन कमाउने आशमा मुग्लानमा पसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि दसैँ र तिहार पर्वको अवसर पारेर आफ्नो गाउँघर फर्किएका छन् ।
वर्ष दिनमा घुम्दै आउने दसैँ, तिहारलगायत ठूला चाडपर्वमा यतिबेला गाउँका घरहरु पनि रातो, पहेँलो माटो र सेतो कमेरो पोतिएपछि बेहुली जस्तै सिँगारिएका छन् ।
गाउँघरमा हालिने लिङ्गेपिङ र रोटेपिङले समेत चाडबाडको मौसमलाई थप रमणीय बनाइदिएको छ । सहर, बजारमा बिजुली बत्तीले झिलीमिली भएको छ भने गाउँघरमा ढकमक्क फूलेका सयपत्री, मखमली, तिहारे, गोदावरी र गुलाबीलगायत फूलहरुले गाउँ नै रङ्गिएको छ ।
हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पनि फूलेका फूलहरुले तिहारको रौनक छाएको छ । सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्मै सयपत्री र मखमलीलगायत फूलहरु फूलिरहेका छन् ।
यमपञ्चकको आज दोस्रो दिन अर्थात् कुकुर तिहार । यतिबेला गाउँघरमा तिहारलाई लक्षित गरेर ढकमक्क फुलेका सयपत्री, मखमली र गोदाबरी फुलको बास्नाले गाउँ नै मगमग बसाएको छ । निलो आकाशसँगै  मौसम खुलेको छ अनि ढकमक्क फूलेका फूलहरुको कारण गाउँघर अहिले निकै सुन्दर, आकर्षक र मनमोहक देखिएका छन् ।
घरको करेसाबारी, आँगन, डिल, खेतबारी, कान्ला, फूलबारी र खोल्सा–खोल्सीमा फुलेका फुलहरुले तिहार पर्व नजिकिएको सङ्केत गर्दछन् । सहर, बजारमा पनि रङ्गेली रङहरु, झिलीमिली बत्ती, विभिन्न प्रकारका फूलहरु र मालाले तिहार पर्वलाई स्वागत गरिरहेको देखिन्छ ।
तिहारमा फुलेका फूलहरुले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकहरुलाई समेत आकर्षित गरेको छ । नेपाली समाजमा तिहार पर्वलाई उज्यलो र फूलै फूलको पर्वको रुपमा लिने गरिन्छ ।
तिहारको अन्तिम दिन भाइटीकाको दिनमा मखमली, सयपत्री, थुङ्गे, गोदाबरीलगायत फूलहरु गाँसेर बनाएको माला लगाइन्छ । परापूर्वकालदेखि नै तिहारमा यिनै फूलहरुको माला लगाइने कार्यले निरन्तरता पाएको छ ।
यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायत फूलहरु अनिवार्य रुपमा प्रयोग गर्ने गरिन्छ । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नको लागि पनि तिहारमा सयपत्री, मखमलीलगायत फूलहरुको खेती गर्ने र खरिद–बिक्री समेत हुने गरेको पाइन्छ ।
यी फुलहरुको माग उच्च हुने गर्दछ । कतिपयले पुष्प खेती गरेरै तिहार पर्वमा फूल बिक्रीबाट मनग्गे आम्दानी समेत गर्दै आइरहेका छन् । तिहार पर्व दाजुभाइहरु र दिदीबहिनीहरुको बीचमा आत्मीयता साटासाट गर्ने तथा सम्बन्ध थप प्रगाढ बनाउने पर्वको रुपमा रहेको छ ।
तिहार पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । मृत्युका देवताको रुपमा मानिने यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् ।
 
यमुनालाई आफ्नो दाजुसँग भेट्ने तीव्र इच्छा भएपछि विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेटघाट गर्नको लागि आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष सुरुमा काग र त्यसपछि क्रमशः कुकुर, गाई र अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यसरी पाँच दिनसम्म तिहार पर्वलाई विधिसम्मत तरिकाले मनाउने गरिन्छ ।
      
तिहार पर्वमा झिनियाँ, सेलरोटी, मिठाई जस्ता मीठा–मीठा परिकारहरु बनाएर खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न फूलहरुको माला उनेर मालासँगै निधारमा सप्तरङ्गी टिका लगाएर तिहार पर्व मनाउने प्रचलन सदियौंदेखि चलिआएको हो ।
तिहार आएसँगै गाउँघरमा सयपत्री, मखमली, गोदाबरीलगायत फुलहरु ढकमक्कै फूलेको बेनी नगरपालिका–५, चिप्लेटीकी अगुवा महिला यामकुमारी खत्रीले जानकारी दिए।