गौरा पर्वका अवसरमा कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा, मकवानपुरमा न्वागीका लागि दुई दिन बिदा

गौरा पर्वका अवसरमा कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा, मकवानपुरमा न्वागीका लागि दुई दिन बिदा

महेन्द्रनगर।  गौरा पर्वका अवसरमा कञ्चनपुरका सातवटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ। जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा र पुनर्वास नगरपालिकाका साथै लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौराका अवसरमा स्थानीय सार्वजनिक बिदा घोषणा गरिएको हो।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका लागि बिदा दिइएको छ। यस्तै शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि पालिकाभर सार्वजनिक बिदा रहेको जानकारी दिएका छन्।

मकवानपुरका राक्सिराङ र कैलाशमा दुई दिन बिदा

यसैगरी, चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले भदौ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बिदाका दिन पालिकाभित्रका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।

चेपाङ समुदायमा भदौ २२ गते राति वनस्पति तथा नयाँ खाद्यान्न बाली घरमा भित्र्याएर पूजा गर्ने र एकपाखे ढ्याङ्ग्रो बजाउने परम्परा छ। भदौ २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तहरूसँग न्वागी मनाइन्छ। नयाँ उब्जनी बाली पितृ, भूमि र प्रकृतिलाई चढाएपछि मात्र आफूले ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता चेपाङ समुदायमा रहिआएको छ।